Monday, January 5, 2015

मधेसका नेता विजयकुमार गच्छदार कि उपेन्द्र यादव ?





पहिलो संविधानसभा निर्वाचनमा दुई-दुई स्थानबाट भारी मत अन्तरले विजयी भएका मधेसका दुई नेता विजयकुमार गच्छदार र उपेन्द्र यादवलाई यसपालि एक ठाउँबाट जित्न पनि हम्मेहम्मे पर्‍यो। यी दुवैले मोरङ गुमाए र सुनसरीबाट झीनो मत अन्तरले विजयी भई संविधानसभामा उपस्थिति कायम राखे। महत्त्वाकांक्षी दुवै नेताको राजनीतिक भविष्यबारे अनेक टीकाटिप्पणी उनकै क्षेत्रमा सुरु भएका छन्। उनीहरूप्रति मतदाताहरूमा आशाभन्दा निराशा र आशंका बढी छ। दुवै नेताले मतदातामाझ रचनात्मक छाप छाड्न सकेका छैनन्। पश्चिम कुशाहा-३, नहरचोकको चियापसलमा पुस पहिलो साता भेटिएका करबि दुई दर्जन स्थानीयसँग डेढ घन्टाको छलफलपछि श्रीपुर-८, सुनसरीका मोहम्मद नयमुद्दिनले निष्कर्ष निकाले, "दुवै नेताले मधेसको मुद्दा उठाएर व्यक्तिगत स्वार्थ सिद्ध गरेका छन्। धेरैपटक सरकारमा गए, विदेश घुमे तर हामी मधेसवासीको हितका लागि केही गरेका छैनन्।"

यी दुवै नेताको घर सुनसरीमा छ। यादवको घर पश्चिम सुनसरीमा पर्ने मधुवन गाविस हो भने गच्छदारको भलुवा गाविस। यादवले जिल्लाको दक्षिणपश्चिम सघन बसोवास गर्ने यादव समुदायको प्रतिनिधित्व गर्छन् भने गच्छदार पूर्वीमध्य भागमा सघन बसोवास रहेको थारू समुदायका प्रतिनिधि हुन्। दुवै मध्यमवर्गीय किसान परिवारका सदस्य। गच्छदार खेती गर्ने परिवारबाट आए भने यादव पशुपालक परिवारबाट। पछिल्लो कालमा दुवैले विराटनगरलाई पूर्वमा राजनीतिको अर्को मुकाम बनाएका छन्। यादवको विराटनगर-१८ मा घर छ भने गच्छदार आफन्तकहाँ बसेर विराटनगरको मोर्चा सम्हाल्छन्। आज दुवैका वर्गआधार रूपान्तरित भएको कुरा यिनका मतदाताले राम्रैसँग 'नोट' गरेका छन्। नयमुद्दिनको निष्कर्षले पनि यही भन्छ।



राजनीतिक प्रतिद्वन्द्वी

राजनीति शक्ति र स्वार्थको लडाइँ हो भन्ने भलिभाँती जानेका यी नेताहरू एक-अर्कालाई प्रतिस्पर्धी ठान्छन्। दुवै महत्त्वाकांक्षी नेताले जालझेल नगरी राजनीतिमा स्थापित हुन सकिँदैन भन्ने उत्तिकै बुझेका भए पनि खेलमा गच्छदार नै अगाडि रहेको बुझाइ स्थानीयको छ। आफ्नो महत्त्वाकांक्षा पूरा गर्न गच्छदारले जतिसुकै खेल खेल्न र दल बदल्न सक्छन् भन्ने छाप मतदातामा परेको छ। यादवले भने मधेसको दमित मानसिकतालाई उद्वेलित गरेका छन्। र, उनको प्रमुख राजनीतिक पुँजी पनि यही हो भन्छन्, श्रीपुर-९, सुनसरीका बालेश्वर खत्वे। दुई नेताबीच उनको तुलना छ, "गच्छदार केन्द्रमा लडाइँ गर्छन्। खोसेर ल्याउँछन् र आफ्नो क्षेत्रको विकासमा लगाउँछन्। यादव मधेसीको माहोलका कारण ठूला नेता भएका हुन्।"

राजनीतिमा राष्ट्रिय पहिचान बनाएका यी नेताहरूको स्थानीय आधार भने आफ्नै जातीय समुदाय हो। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म उल्लेख्य बसोवास रहेको थारू समुदायको सहानुभूति गच्छदारलाई प्राप्त छ। उनको दलले प्रत्यक्षमा जितेका चार सिटमा तीन जना थारू हुनुले पनि उनको प्रभाव क्षेत्र जातीय हो भन्ने देखिन्छ। संसद्मा प्रधानमन्त्रीको उम्मेदवारी दिँदा होस् वा इटहरीका चुनावी सभामा, उनले भाषणका बीचमा पटकपटक भनेका छन्, 'म थारूको छोरा...।'

हुन पनि गच्छदार समकालीन नेताहरूमा थारू समुदायका सबैभन्दा उचाइमा रहेका नेता हुन्। विकास र अवसरमा निकै पछि परेको थारू समुदाय राज्यमा पहुँचका दृष्टिले समेत कमजोर छ। आफूलाई कमजोर ठान्ने त्यो समुदायको स्वाभाविक चाहना हुन्छ, आफ्ना पक्षमा बोल्ने बलियो नेता होस्। त्यो रत्तिmता उनले पूरा गरेका छन्। आफूकहाँ समस्या लिएर आउनेसँग उनी बोल्न तयार हुन्छन्। बोल्दै जाँदा समस्या खुल्छन्। खर्चपर्च, जागिर, सरुवा, बढुवा जे चाहिन्छ उनी पूरा गर्छन् भन्ने विश्वास छ, यस क्षेत्रमा। समाज र नातागोताका काम लिएर उनीकहाँ पुग्नेले पनि रत्तिो हात र्फकनु पर्दैन। शक्तिभन्दा धेरै पर कहिल्यै नबस्ने भएकाले उनको सिफारसि पनि चल्छ।



महत्त्वाकांक्षाको टक्कर

गच्छदारको आफ्नै नातागोता, सहयोगी र अन्धसमर्थकको निकै ठूलो आधार छ। उनको घरमा आउने जानेको लावालस्कर लागिरहन्छ। उनी गाउँ आउँदा लाग्ने भोजभतेरले नै उनलाई सधैँ गाउँसँग जोड्ने गरेको छ। जागिर, ठेक्कापट्टा, लाभको वितरण गर्न र आफ्ना मान्छेहरूलाई आफैँमा थामिराख्न गच्छदार सिपालु छन्। नियम मिच्लान्। दबाब देलान्। आफ्नै ठेकेदारलाई पोस्लान् तर यिनले भनेको काम गर्छन् भन्ने छाप दिलाएका छन्। उनकै जेठा दाइ दीपनारायण गच्छदार, ७४, सगर्व स्वीकार्छन्, "यहाँ हाम्रो मन्त्रीले जति काम कसले गरेको छ ? सञ्चारमन्त्री छँदा हरेक घरको एक जनालाई दूरसञ्चारमा जागिर लगायो। गृहमन्त्री छँदा प्रहरीमा लगायो। बाटो नपुगेको कुनै गाउँ छैन। अरू के चाहियो ?" यी गुणमा यादव कमजोर छन्।

संगत गरेकाहरू गच्छदारलाई चलाख, हिम्मतिला तर विश्वास गर्न नसकिने नेताका रूपमा चर्चा गर्छन्। सुरुमा गिरिजाप्रसाद कोइराला र कोइराला परिवारको विश्वास प्राप्त गरेसँगै गच्छादारले ०४७ सालदेखि नै पछाडि फर्किनुपरेको छैन। उनले पटक-पटक लाभको पद प्राप्त गरे। उनलाई राजनीतिमा कमाउन सिपालु नेताका रूपमा समेत स्थानीयले चिनेका छन्। तर, रमाइलो यो छ कि उनले न त विराटनगरमा घर बनाएका छन्, न काठमाडौँमा। आफ्नो राजनीतिक अभीष्ट पूरा गर्न गच्छदारले अनेकौँ घात, अन्तरघात र पार्टी विभाजनको जोखिम लिए। फलतः पटक-पटक उनी शक्ति र लाभको पदमा पुगे। तर, यसैको नकारात्मक परिणाम राजनीतिमा गच्छदारले रचनात्मक छवि बनाएका छैनन्। आफू कहिल्यै हार्न नजान्ने स्वघोषणा गरेर ०७० को निर्वाचनमा होमिएका गच्छदारले मोरङबाट हार खानुपरेको छ। यता सुनसरीमा त उनी बालबाल बचेका छन्।

गच्छदारको पदलोलुपता उनकै गाउँघरमा चर्चाको विषय छ। धेरैले उनलाई पदका लागि जे गर्न पनि तयार नेता मान्छन्। तर, यादवमा अलिक चिन्तन गर्ने, तर्कहरूलाई संगठित गर्ने र सिद्धान्तको राजनीतिलाई प्रवर्द्धन गर्ने गुण छ। त्यसैले यादवले बनाएको राजनीतिक आधारमा गच्छदारहरूले खेले र त्यसको पीडा यादवले झेले। आज दुवै कमजोर छन्। यद्यपि, यादवका लागि राजनीतिमा विकल्पहरू अझै बाँकी हुन सक्छन् तर गच्छदारका दिन सकिएको मान्छन् इटहरीस्थित राजनीतिक विश्लेषक केशव दाहाल । भन्छन्, "यो गच्छदार प्रवृत्तिका लागि शुभ संकेत होइन।"

अवसरका दृष्टिले गच्छदारको तुलनामा यादवको राजनीति बढी संघर्षमय छ। तराईको राजनीतिमा दबदबा रहेको यादव समुदायभित्र पनि उनी निम्न र निम्न मध्यमवर्गीय समुदायको प्रतिनिधित्व गर्छन्। सुनसरीदेखि रौतहटसम्म बाक्लो उपस्थिति छ यादव समुदायको । यादवभित्रै राजनीतिमा पुराना, धनी र जमिनदार वर्गको पकडप्रति असन्तुष्ट वर्गले भैँसी चराएर आएका उपेन्द्र यादवप्रति अपनत्व देखायो। पछिल्लो निर्वाचनमा फोरमले पाएको मत प्रवृत्तिले पनि यही क्षेत्रमा उनको प्रभाव देखिन्छ।

वामपन्थी आन्दोलनबाट राजनीति थालेका यादव ०४८ को संसदीय निर्वाचनमा एमाले उम्मेदवार थिए। एमाले सुनसरी जिल्ला कमिटी सदस्यसम्म पुगेका उनी पराजित भएपछि निष्क्रिय भए। त्यसपछि यादव मधेस र मधेसीका समस्यामाथि अध्ययन-अनुसन्धानमा केन्दि्रत भए। मोरङमा बोर्डिङ् स्कुल चलाए। माओवादी आन्दोलनको नजिक रहेर पनि काम गरे। मधेसको मुद्दालाई संगठित ढंगले उठाउन उनले मधेसी जनअधिकार फोरम नामको सामाजिक संस्था स्थापना गरे। यो गैरसरकारी संस्था संघसंस्था दर्ता ऐन, २०३४ अनुसार मोरङमा दर्ता छ। यही संस्थाको नाममा मधेसको कुरा गर्दागर्दै यादव राजनीतिक आन्दोलनको अगुवा बने। यो एक नियोजित प्रयत्न थियो, जसमा उनी सफल भए। धेरै मान्छेहरू यादवको त्यो सफलतालाई पाडो किन्दा भैँसी उपहार परेजस्तै मान्छन्।

०६४ सालमा उनको पार्टीले मधेसमा उल्का गर्‍यो। उनी मधेसका नायक बने। राजनीतिका माहिर खेलाडी गच्छदार र जेपी गुप्ताहरूसमेत मधेसको आकर्षणमा यादवसँगै आइपुगे। पछि तिनै व्यक्तिहरू फोरम विभाजनका कारण बने। सुरुआती दिनमा फोरमलाई गच्छदार र गुप्ताले तीन भाग लगाए। अनि, यादवका दुर्दिन सुरु भए। आज फोरमले विगतमा प्राप्त गरेको सान र हैसियत गुमेको छ। र, यादव आफैँ पनि कमजोर देखिएका छन्। पार्टीमा जातिविशेषको वर्चस्व हुनु, राम्रो टिम नहुनु र व्यक्तिगत अहंका कारण पनि उनको राजनीति ओरालो लागेको उनलाई चिन्नेहरूको निष्कर्ष छ।



गाउँमा गच्छदार, सहरमा यादव

यहाँका गाउँतिर गच्छदार र सहरतिर यादवप्रति सहानुभूति बढी देखिन्छ। सहरी जनसंख्या दुई दशकभन्दा बढी समय  मन्त्री पदमै बिताएका गच्छदारलाई इमानदार, विवादमुक्त र दागमुक्त राजनीतिज्ञ मान्न तयार छैन। उनका अगाडि यादव बरू अहिलेसम्म पर्याप्त परीक्षित नभइसकेका र नयाँ अनुहार भएकाले सहानुभूतिका पात्र छन्। विश्लेषक दाहाल भन्छन्, "यी दुवैको तुलना गर्दा यादवमा राजनीतिक चरत्रि देखिन्छ। त्यसैले नै उनले मधेसको अध्ययन, लेखन र जागरणमा समेत योगदान गरेका छन्।"

गच्छदार पहाडी समुदायसँग हुर्के। साथीसँगाती पनि पहाडी भए। नेवार समुदायमा उनले विवाह गरे। त्यसैले गच्छदारको निकटता मधेसीभन्दा पहाडी समुदायसँग रहेको ठान्छन् कतिपय। पत्रकार तुलानारायण साह भन्छन्, "गच्छदारलाई पहाडी समुदायले सहज ठान्छ। उनीबाट खतरा देख्दैन। सुनसरी-मोरङ पहाडी बहुल समुदाय भएकाले पनि उनको राजनीति सहज भयो। तर, सहर र काठमाडौँमा उनको कुरूप पक्ष नै बढी चर्चित हुन्छ।"

आफ्नो समुदायको जातीय मनोविज्ञानमा खेलेर राजनीति सुरक्षित राख्न सकेका यी दुवै नेताको सिद्धान्त र संगठनको जग कमजोर छ। संगठनलाई तदर्थ ढंगले चलाउनु यिनीहरूको बाध्यता देखिन्छ। जिल्लामा यिनका लागि धेरै आर्थिक स्रोत पनि छैन। त्यसैले केन्द्रीय स्रोतलाई नै जिल्लाको संगठन सञ्चालनको आधार बनाउँछन्। मधेसको तरलता र भड्काउमा यिनीहरूले आफ्नो संगठन चलाउँदै आएका छन्, जुन आधारले पछिल्लो कालमा धेरै काम गरेको देखिँदैन। त्यसैले यिनीहरूको संगठनमा जातीय संलग्नता धेरै छ र राजनीतिक संलग्नता देख्न मुस्किल पर्छ। जस्तो ः गच्छदारको संगठनमा हर्ताकर्ता चौधरी छन् भने यादवकहाँ यादव नै।



कमजोर धरातल

संविधानसभा निर्वाचनको उमेदवारी दर्ताका दिन गच्छदार २ बजेपछि सदरमुकाम इनरुवा पुगे। उनले स्थानीय जनताको राम्रै संख्या जम्मा गरेका थिए। जसमा थारू महिलाको संख्या उल्लेख्य थियो। उनका राजनीतिक प्रतिस्पर्धी यादवले के गर्लान् भन्ने स्थानीय उत्सुकतालाई अबेला मात्र पूरा गरे। दर्जनौँ भारतीय नम्बर प्लेटका गाडीको लस्करमा यादव कार्यालयतिर आउँदा धेरैले जिब्रो टोकेका थिए। उनीहरूको प्रचार शैली र लावालस्कर देखेकाहरू निर्वाचन आचारसंहिता र खर्च सीमाबारे अझै खासखुस गर्छन्।

यादवले चुनावको मुखैमा गाउँका विपन्न बस्तीमा महिलाहरूलाई साडी बाँडेको कुराले राष्ट्रिय चर्चा पायो। तर, गच्छदारका नाममा कति हाँस र बंगुर ढले भन्ने हिसाब कसैले गर्न भ्याएनन्। सुनसरीमा गच्छदारको भोजमा समाहित हुने मात्र करबि पाँच हजारभन्दा धेरै थिए भन्ने आसपासका जनताको अनुमान छ। गरबि जनताको एक छाक मीठो खाने लोभलाई र एकसरो लगाउने मोहलाई यी नेताहरूले यसपटकसम्म त भजाए तर आउँदो चुनाव यस्तो नहुन सक्छ।



तुरुप मधेस

चुनावअघि र पछिका यी परिदृश्यले के देखाउँछ भने जनतालाई स्वतःस्फूर्त परिचालित गर्ने तागत यी दुवै नेतामा कम हुँदै गएको छ। बाहुबल, आफ्नो समुदायको अन्धसमर्थन, व्यक्तिगत सम्बन्ध र मधेसको भावनात्मक मनोविज्ञानलाई यिनीहरूले थप उपयोग गर्न सक्ने आधार पनि कमजोर बन्दै गएका छन्। जेहोस्, ०७० को निर्वाचनसम्म मधेसको भावनात्मक नाराले यिनीहरूलाई थोरै भए पनि साथ दिएको देखियो। तर, अब त्यो साथ पनि सकिँदै गएको स्पष्ट संकेत यही चुनावले गर्‍यो। त्यसैले आउँदा दिन उनीहरूका लागि थप चुनौतीपूर्ण हुने निश्चित छ।

राष्ट्रिय पहिचान बनाए पनि विचार र संगठनका दृष्टिबाट न यी राष्ट्रिय नेता बन्न सके, न यिनका दल नै राष्ट्रिय बने। तराईका अन्य दलभन्दा यी दुई बढी फराकिला देखिए पनि दिनदिनै खुम्चिँदो आकारले संकटपूर्ण भविष्यतर्फ संकेत गर्छ। विश्लेषक दाहाल त यी दुवै दल क्षेत्रीय बन्ने आधार पनि भत्कँदै गएको टिप्पणी गर्छन्। भन्छन्, "आजका दिनमा यिनीहरूको सीमा निकै साँघुरो बन्दै गएको छ।"

कतिपयका बुझाइमा गच्छदारका लागि राजनीतिको एउटा तुरूप मात्र हो, मधेस। आज यसलाई समात्दा उनलाई फाइदा भयो, उनी यसैमा रमाए। भोलि अर्कोमा फाइदा देख्दा त्यसैमा लाग्न सक्छन्। सुनसरी बहुमुखी क्याम्पसका प्रमुख जेपी गुप्ता भन्छन्, "एक मधेसको भविष्य छैन भन्ने गच्छदारले बुझेर नै बहुपहिचानसहितको राज्यको मुद्दा उठाएको हुनुपर्छ। त्यसैले उनले मधेसमा दुई प्रदेशको कुरा उठाए। सबै जातजातिको नारा लिएर चुनावमा गए।"

सुनसरीवासीहरू यादव अलिक सिद्धान्तमा प्रतिबद्ध भएकाले हम्मेसी मधेस मुद्दा छोड्लान् भन्ने देख्दैनन्। "तर, समग्र मधेस प्रदेशको खस्कँदो जनसमर्थनका कारण उनले आफ्नो अडानलाई परविर्तन नगरी अगाडि जान सम्भव पनि देखिँदैन," सुनसरी बहुमुखी क्याम्पस, इनरुवाकै राजनीतिशास्त्रका प्राध्यापक प्रकाश नेपाली भन्छन्, "मधेसवादीको विकल्प माओवादी पनि बन्न सकेन। बहुपहिचानकै मुद्दा बोकेका राष्ट्रिय दलले मधेसबाट बलियो समर्थन पाए।"



बदलिने या सकिने ?


यादव र गच्छदार दुवै आ-आफ्नो पार्टीका केन्द्रीय अध्यक्ष हुन्। जिल्लामा उनीहरूको प्रतिस्पर्धी छैन। त्यसैले उम्मेदवार हुन दुवैलाई कसैले नरोक्ला तर अबका दिनमा कसरी जित्छन् भन्ने प्रश्न जटिल छ। अर्को पक्ष, उनीहरू अब राजनीतिको केन्द्रमा रहेनन्। बिस्तारै उनीहरूको सीमा खुम्चिने र मध्य तराईमा मात्र केन्दि्रत रहने देखिँदै छ। संघीयता र क्षेत्रीय राजनीतिको महत्त्व भोलिका दिनमा कसरी स्थापित होला, त्यसैमा उनीहरूको राजनीतिक भविष्य निर्धारति हुनेछ। सुनसरी बहुमुखी क्याम्पसका प्राध्यापक प्रकाश नेपाली भन्छन्, "दुवैले आफ्नो विचारको पुनःगठन गरेमा राजनीतिमा टिक्ने ठाउँ कतै रहला तर उनीहरूले मधेसी मनोविज्ञानमा खेल्न भने अब असम्भव नै छ।"

यहाँका बासिन्दाको सबैभन्दा चित्त दुःखाइ दुवै नेताले राजनीतिलाई सत्ता र शक्ति आर्जनको भर्‍याङ बनाए भन्नेमा छ। उनकै समर्थकलाई समेत यस्तै छाप परसिकेको छ। मधेसको मुक्ति उनीहरूका लागि मधेसी जनता भड्काउने तुरुप मात्र हो भन्ने तल्लो तहसम्म पुगेको छ। दाहाल भन्छन्, "यस्तो राजनीतिको भविष्य दिगो र अर्थपूर्ण हुँदैन। बिस्तारै उनीहरूको सत्ता र शक्तिको राजनीति चकनाचुर हुने पक्का छ। यसर्थ, या त उनीहरूले आफ्नो राजनीतिक धारलाई परविर्तन गर्नेछन्, या समाप्त हुनेछन्।"
(साथमा, वेदराज पौडेल)
http://www.ekantipur.com/nepal/2070/9/21/full-story/6336.html
अंक ५७७ | २०७० पुस २१
#NEPAL_Weekly_Ram_Bahadur_Rawal 

No comments:

Post a Comment