Monday, January 5, 2015

पराजयबारे प्रचण्ड को बकपत्र


संविधानसभाको पछिल्लो निर्वाचनको परिणाम जतिसुकै अप्रत्यासित र अनपेक्षित देखिए पनि यसका पछाडि आन्तरकि रूपमा हाम्रो पार्टीका आत्मगत कमजोरी तथा बाह्य रूपमा प्रतिक्रियावादी र अवसरवादीहरूले हाम्रो पार्टीविरुद्ध नियोजित रूपले बढाएका अनेकौँ षड्यन्त्र रहेका छन्। षड्यन्त्र, अनियमितता र धाँधलीजस्ता कारण पनि अन्ततः आन्तरकि कमजोरीमा टेकेर नै प्रभावी हुने हुँदा हाम्रो ध्यान पनि आन्तरकि कारणमै प्रमुख रूपमा केन्दि्रत हुनुपर्छ।

निर्वाचन परिणामका बाह्य कारण

-    राज्यसत्ताका सबै अंगमा १० वर्षको महान् जनयुद्ध, १९ दिने ऐतिहासिक जनआन्दोलन र समग्र परविर्तनको प्रक्रियाका विरुद्ध लामो समयदेखि सामन्ती राजतन्त्रका पक्षमा प्रशिक्षित र संरक्षित समाजको सबैभन्दा परम्परावादी र संकीर्ण शक्ति हावी हुनु।

-    हाम्रो जनआधारका रूपमा रहेको तल्लो वर्गका लाखौँ जनता मतदाता नामावलीमा नाम छुटेर अन्ततः मतदानकै अधिकारबाट वञ्चित हुन पुगे।

-    ०६४ देखि ०७० सम्म गाउँघर तथा सहरका निम्न र निम्न मध्यम वर्गका लाखौँ युवा, जो मूल रूपमा हाम्रो पार्टीका मतदाता थिए, को रोजगारका निमित्त विदेश पलायनले पनि निर्वाचन परिणाममा उल्लेख्य प्रभाव पारेको छ।

-    सूचना र सञ्चारको क्षेत्रमा झन्डै एकाधिकार कायम गरेको परविर्तनविरोधी शक्तिले नियोजित र निरन्तर रूपमा हाम्रो पार्टी एवं पहिचान र संघीयतासहितको परविर्तनका विरुद्ध गरेको प्रचार अभियानले धेरै हदसम्म जनतालाई भ्रमित तुल्यायो।

-    पार्टी विभाजनको भौतिक र मनोवैज्ञानिक प्रभाव आमजनतामा उल्लेख्य परेको देखियो। विभाजित समूहको हाम्रो पार्टीका उम्मेदवारहरूलाई परास्त गर्ने एकसूत्रीय रणनीति अन्तर्गत कांग्रेस, एमाले र राप्रपासम्मका उम्मेदवारलाई पैसा लिएर समर्थन गर्ने चरत्रिले पनि प्रभावित गर्‍यो।

-    अघिल्लो संविधानसभाबाट चार वर्ष लगाएर पनि संविधान नबन्नुको कारण यसपटकको निर्वाचनमा जनताले राजनीतिक मुद्दा तथा संविधान निर्माण गर्ने विषयतिर कम तथा विकास निर्माण र तत्कालीन आर्थिक लाभका प्रश्नमा ज्यादा ध्यान दिएको पाइयो।

-    प्रतिक्रियावादी र अवसरवादी शक्तिहरूले आश्चर्यजनक र असीमित रूपमा आर्थिक चलखेल गरे।

-    मतदान केन्द्रबाट मतगणना केन्द्रसम्म मतपेटिका लैजाने प्रक्रियामा निर्धारति विधि र सर्वमान्य परम्पराविपरीत उम्मेदवार र उनका प्रतिनिधिहरूबाट मतपेटिका अलग पारियो, सीधै मतगणना केन्द्रमा नलगी मतपेटिकाहरू सुरक्षा फौजको जिम्मामा रहस्यमय तरकिाले घन्टौँ ब्यारेकमा राखियो।

-    देशका विभिन्न भागमा मतपेटिकाभित्र मुचुल्का गरएिभन्दा बढी र घटी मतपत्र देखा पर्नु, व्यापक रूपमा सिल तोडिएका मतपेटिकाहरू रहनु, अर्धकट्टीसमेतका विभिन्न रंगका मतपत्रहरू फेला पर्नु तथा मतपेटिकाहरू अस्वाभाविक रूपमा जंगल र विभिन्न चौकीहरूमा फेला पर्नुले पनि निर्वाचनमा अनियमितता र अपारदर्शिता रहेको तथ्य प्रमाणित गर्छ।

-    मतगणना सुरु नहुँदै निर्वाचन आयोगबाट मतगणना केन्द्रमा जारी गरएिको सर्कुलरका बुँदाहरूले निर्वाचन प्रक्रियालाई थप रहस्यमय बनाएको छ।

पराजयका आत्मगत कारण

-    देशको सबैभन्दा ठूलो पार्टी बनेर तथा पछिल्लोपटक आफ्नै नेतृत्वको सरकार हुँदासमेत संविधान बन्न नसक्नुको परिणाम हाम्रो पार्टीप्रति जनसमुदायको भरोसामा उल्लेख्य कमी आयो। संविधान बन्न नसक्नुका पछाडि प्रमुख कमजोरी हाम्रो पार्टी नेतृत्वकै रहेको तथ्य स्वीकार गर्नुपर्छ।

-    आजको स्थितिबाट हेर्दा आफ्नै नेतृत्वमा सहमतिको सरकार बनाएर वा अन्तिम पर्दा अन्य राजनीतिक दलकै नेतृत्वमा सरकार बनाएर भए पनि निर्वाचनमा जाने सही निर्णयमा आवश्यक अडान लिन नसक्नु पार्टीको अर्को कमजोरी हुन गएको छ। आफ्नै नेतृत्वमा निर्वाचनमा जाने प्रश्नमा अडिन पनि नसक्नु राजनीतिक दलहरूकै सरकार बनाएर जाने वातावरण पनि बनाउन नसक्नु र अन्ततः गैरराजनीतिक एवं परम्परावादी सोच भएको कर्मचारीतन्त्रलाई उदारतापूर्वक निकै ठूलो दाताझैँ भित्र-बाहिर गम्भीर प्रश्न र विरोधका बाबजुद सरकारको जिम्मा लगाउनु हाम्रो पार्टी एवं समग्र परविर्तनका मुद्दाका निमित्त आत्मघाती साबित हुन गयो।

-    सरकारको प्रभावकारतिा र संगठनात्मक परिचालन दुवैमा अन्तरसंघर्षको नकारात्मक असर पर्‍यो। महान् जनयुद्ध र जनआन्दोलनको उपलब्धिका रूपमा आएको शान्ति सम्झौता, संघीय गणतन्त्र, धर्म निरपेक्षता, समावेशी समानुपातिक लोकतन्त्र, संविधानसभाको ऐतिहासिक महत्त्वलाई आत्मसात् गर्न बिलकुल तयार नरहेको जडसूत्रीय संशोधनवादी पक्षले पार्टीलाई अस्वस्थ अन्तरसंघर्षको भूमरीमा फसाएर जनकार्य र संगठनात्मक कार्यमा ठूलो व्यवधान खडा हुन पुग्यो।

-    सर्वहारावादी संगठनात्मक मान्यताहरू भताभुंग भए। लामो समयसम्म सामान्य केन्द्रीय संगठनात्मक संरचनाको गठन र कार्यविभाजनसमेत हुन सकेन। उल्टै केन्द्रीय कार्यालयमै राजीनामाको प्रसंगसमेतले संगठनात्मक संरचनाको विकास अझ जटिल बन्न गयो। महिनौँसम्म रहेका संगठनात्मक कंचिगल र जटिलताका कारण पार्टी पंक्ति हेटौँडा महाधिवेशनको कार्यदिशाबाट जसरी उत्साहित भएको थियो, त्यो संगठनात्मक उत्साहमा रूपान्तरण हुन सकेन। अन्ततः संगठनात्मक विशेष सम्मेलन गर्ने प्रतिबद्धतासहित विस्तारति बैठकबाट अध्यक्षको एकल नेतृत्वमा निर्वाचनमा जाने फैसला गरयिो। यो फैसला कामचलाउ प्रकृतिको मात्र थियो र यसले सिंगो संगठनलाई ऊर्जा र गति दिन सकेन।

-    कूटनीतिक सन्तुलन मिलाउने नाममा नेपालको राष्ट्रिय स्वाधीनता र नेपाली जनताको देशभक्तिपूर्ण आन्दोलनमा हाम्रो पार्टीले निरन्तर खेल्दै आएको नेतृत्वदायी भूमिका यसबीचमा कमजोर देखियो।

-    यसबीचमा हाम्रो पार्टी निकै ठूलो मनोगतवादी रोगको सिकार हुन पुग्यो। आफ्नो शक्तिको अतिरञ्जित अधिमूल्यन र प्रतिक्रियावादी शक्तिको अतिरञ्जित अवमूल्यन गर्ने कुरामा त्यो मनोगतवाद व्यक्त भयो। चौतर्फी र एकलौटी रूपमा आफ्नो जित मात्र र विपक्षहरूको हार मात्र देख्ने यो मनोगतवादी रोगले पार्टीलाई विभिन्न पक्षमा अपनाउनुपर्ने सावधानीबाट तथा मित्रहरूसँग गर्नुपर्ने सहमति र तालमेलबाट विमुख गरायो। प्रतिक्रियावादी र विपक्षहरूसँग गरएिका तमाम उदारवादी सम्झौताहरूको जगमा यही मनोगतवादी अहंकारले पनि प्रशस्त काम गरेको छ।

-    निर्वाचनसम्बन्धी प्राविधिक तयारीका सन्दर्भमा पार्टीमा हदैसम्मको बेवास्ता र लापरबाही देखा पर्‍यो। दक्षिणपन्थीहरूका तमाम षड्यन्त्रलाई परास्त गर्न युवा शक्तिलाई विगत निर्वाचनमा वाईसीएल परिचालन गरेझैँ संगठित र सशक्त रूपमा परिचालन गर्न नसक्नुले पनि परिणाममा प्रभाव पर्‍यो।

-    प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारको छनोट प्रक्रियामा मापदण्ड बनाएर त्यसैलाई अधिकतम सन्तुलन मिलाउनुपर्नेमा मनोगतवादी अहंकार, गुटबन्दीको असर र नेतृत्वको उदारवादी कमजोरीसमेतका कारण असन्तुलित बन्यो।

-    पार्टी पंक्तिमा पार्टी स्पिरटिलाई प्रधानता दिएर भन्दा पैसालाई प्रधानता दिएर चल्ने प्रवृत्ति हावी भयो।

-    प्रतिक्रियावादी र दक्षिणपन्थीहरूसँग पैसा लिएर आफ्नै विरुद्ध अन्तरघात गर्ने प्रवृत्ति पनि देखियो।

-    पहिचान र संघीयताको प्रश्न कुनै जाति विशेषका विरुद्ध परलिक्षित नभएर अन्ततः समाजमा विद्यमान वर्गीय उत्पीडनकै एउटा रूपको अन्त्य गर्ने प्रश्नसँग जोडिएको कुरा स्पष्ट पार्न नसक्नुले पनि यो निर्वाचन परिणाममा असर गर्‍यो।

संविधानसभाको निर्वाचन र यसको पृष्ठभूमिमा जेजति गल्ती-कमजोरी हुन गए, तिनको प्रमुख जिम्मेवारी पार्टी अध्यक्षको नै हुन्छ। थाहै नपाई क्रमशः पार्टीको नेतृत्वपंक्ति प्रतिक्रियावादीहरूसँग उदार बन्दै एकपछि अर्को हानिकारक सम्झौता गर्ने दिशामा अगाडि बढ्ने अवस्था सिर्जना हुँदै गयो।

पार्टीको स्वरूप न जनपार्टीको जस्तो न सर्वहारावर्गको अग्रदस्ताजस्तो बन्न पुग्यो। पार्टीको सदस्य हुनका लागि कुनै आधार, सर्त र प्रक्रिया पूरा गर्नै नपर्ने स्थिति बन्यो। लेबी तिर्नु नपर्ने, कमिटीमा बस्न नपर्ने, आलोचना, आत्मालोचन गर्न नपर्ने, अनुशासनको कारबाही पनि नहुने र राम्रो काम गर्नेलाई प्रोत्साहन पनि नहुने निकै छाडा र मूल्य मान्यताविहीन अवस्था हाम्रो पार्टी सदस्यहरूको स्थिति बन्दै गयो। प्रतिक्रियावादी वर्गको प्रतिनिधि बनेर जनतामाथि जतिसुकै शोषण, उत्पीडन र दमन गरेको भए पनि मौखिक रूपले स्वार्थवश पार्टीलाई समर्थन गर्छु भनेमा पार्टी सदस्य हुन पाउने स्थितिभन्दा ठूलो वर्ग चरत्रिको ह्रास अरू के हुन सक्छ ?

दृष्टिकोण र निष्ठामा आएको यही गम्भीर विचलनको परिणाम नै पार्टीका नेता-कार्यकर्ताहरूको कार्यशैली र सांस्कृतिक आचरण अत्यन्त अपारदर्शी, अराजक, आत्मकेन्दि्रत, व्यक्तिवादी, छाडा, उपभोक्तावादी र ढोँगी प्रकारको बन्दै गएको छ। आर्थिक अराजकताले सबैभन्दा ठूलो सांस्कृतिक विचलनलाई व्यक्त गररिहेको छ। पैसाका निम्ति जे पनि गर्ने र त्यसका निम्ति कुनै संस्थागत पारदर्शिता अपनाउनु नपर्ने रोगले सिंगो पार्टीको नैतिक धरातललाई क्ष्ातविक्षत पार्दै लगेको छ। यसका साथै यौनजन्य विकृतिलगायत घर, परिवार, व्यक्तिगत सम्पत्तिसम्बन्धी धारणा र मूल्य मान्यतामा पनि निकै ठूलो अराजकता र नैतिक ह्रास आइरहेको छ। श्रमलाई सम्मान गर्ने, नियमित श्रम कार्यमा संलग्न हुने, उत्पादन कार्य र उत्पादनका निमित्त संघर्षमा सहभागी हुनुपर्ने कम्युनिस्ट आचरणका आधारभूत पक्षमा आज पार्टी पंक्तिमा चिन्ताजनक रूपले विचलन आएको छ। श्रम र उत्पादनबाट विमुख भई चन्दा, ठगी, तस्करी र भ्रष्टाचारजस्ता लम्पेन सर्वहारा चरत्रिको विकास हुँदै गएको देखिनुले पार्टी, क्रान्ति र सिंगै समाजका लागि निकै ठूलो खतराको संकेत गर्दछ।

(एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'द्वारा २ माघमा पार्टी केन्द्रीय समितिको बैठकमा प्रस्तुत 'संविधानसभाको निर्वाचन-२०७० र पार्टी पुनःनिर्माणको ऐतिहासिक आवश्यकता' शीर्षकको राजनीतिक प्रतिवेदनको सम्पादित अंश)
अंक ५७९ | २०७० माघ ५
http://www.ekantipur.com/nepal/2070/10/5/full-story/6394.html

No comments:

Post a Comment