Tuesday, January 6, 2015

सिंहदरबारका बाँदर

पूर्वी नेपालको प्रमुख सहर धरानमा अहिले बाँदर आतंक छ। बाँदरहरू बजारका पोल हल्लाएर ट्रान्समिटर पड्काइरहेका छन्। टेलिफोन र केबुलका तार चुँडाइरहेका छन्। फलफूल पसलमा चोरी बढेको छ। मन्दिरमा दर्शन गर्न जाने भक्तका प्रसाद लुटिएका छन्। घरघरमा पसेर खानेकुराहरू सोहोरेर बाँदरले कब्जा गरेका छन्। घरभित्र पसेर सामानहरू बिगार्ने, फुटाउने क्रम जारी छ। बाटामा हिँड्दै गरेका महिला, बालबालिकालाई टोक्ने, चिथोर्ने बाँदरको कमी छैन। बाँदर नियन्त्रणको चुनौती प्रहरी-प्रशासनलाई थेगिनसक्नु भएको छ।

त्यसैले बाँदर आतंकबाट आजित सहरवासी संघर्ष समिति नै बनाएर संगठित भएका छन्। संघर्ष समितिका सदस्यहरू गुनासोको पोको लिएर सिंहदरबार गुहार्न आइपुगेका छन्। सिंहदरबारमा बस्नेहरूले त धरानका बाँदरको उपद्रो तह लगाउने उपाय सुल्झाउलान्। तर, सिंहदरबारभित्रैका बाँदरको उपद्रोचाहिँ कसले तह लगाउने ? राष्ट्रको ढुकुटी प्वाल पार्नेदेखि नीतिलाई बेथितिमा बदल्ने र राजनीतिलाई गोरखधन्दा बनाउने बाँदरहरू सिंहदरबारभित्रै छन्।
- रामबहादुर रावल
http://www.ekantipur.com/nepal/2070/11/25/full-story/6601.html
अंक ५८६ | २०७० फाल्गुन २५

No comments:

Post a Comment