Tuesday, January 6, 2015

सरकारले कुनै चमत्कार गर्दैन : वामदेव गौतम, उपप्रधान तथा गृहमन्त्री


उस्तै जिम्मेवारी र हैसियत लिएर तेस्रोपटक सरकारमा जानुभएको छ। तपाईंबाट के नयाँ अपेक्षा गर्ने ?
कानुनको पालना गराउने, सुशासनको प्रत्याभूति दिलाउने नियमित काम नै यस सरकारले गर्ने हो। यो सरकारका थप कार्यादेश संविधान निर्माणमा सहजीकरण र स्थानीय निकायको निर्वाचन गर्ने हो। यसमा सरकार दत्तचित्त भएर लाग्छ।

तर, चुनाव सम्पन्न भएको साढे तीन महिनापछि बनेको सरकारले जनतामा आशा जगाउने कुनै सन्देशमूलक थालनी गर्न सकेन नि ?
यो सरकारले पुरानै संरचनामा आधारति परम्परागत काम नै गर्ने हो। त्यस्तो कुनै चमत्कार गर्दैन। त्यस्तो आश नगरे पनि हुन्छ।

किन ?
जनतामा उत्साह जगाउने चामत्कारकि काम गर्न नेकपा एमालेले दुईतिहाइ बहुमत पाएर एकल सरकार बनाउनुपर्छ।

सुशील कोइरालासँग काम गर्दाको अनुभव कस्तो लाग्दै छ ?
अहिले नै मूल्यांकन गर्ने बेला भएको छैन।

तैपनि, उहाँप्रति कुनै धारणा त बनाउनुभएको होला नि ?
बहुदलकालको पहिलो निर्वाचनमा उहाँ र म सँगै सांसद भयौँ। तर, संसद्मा उहाँ कतै दृश्यमा हुनुहुन्थेन। पछाडितिर कतै बस्नुहुन्थ्यो क्यारे ! दोस्रो निर्वाचनपछि उहाँलाई त्यस्तै दुई-तीनपटक भेटेँ। उहाँ मर्यादित र शालीन व्यक्ति हो।

प्रधानमन्त्री भइसकेपछि उहाँबारे कस्तो धारणा बनाउनुभएको छ भनेको ?
धेरै नबोल्ने, धेरै घुलमिल नहुने व्यक्तिको भित्री र बाहिरी कुरा बुझ्न गाह्रो हुन्छ। सरकार निर्माणताका भएका छलफल र भेटका बेला उहाँमा लचकता देखेको छैन। एउटा कुरा बोल्ने, बोलेपछि त्यही कुरामा अड्ने उहाँको स्वभाव छ। सुन्नेले उहाँको कुरा बुझ्न सक्दैन। थप व्याख्या गर्ने स्वभाव उहाँको छैन। एउटा क्याबिनेट बैठकमा बस्दा पनि उहाँमा त्यही पाएँ।

भनेपछि उहाँसँगको सहकार्य अलि अप्ठ्यारै छ, होइन ?
मैले यसअघि दुई फरक-फरक धारका प्रधानमन्त्रीसँग काम गरेँ। ती दुवैसँग एकदम सहजताका साथ काम गरेँ। ती दुवैसँग अहिले पनि मेरो व्यक्तिगत सम्बन्ध राम्रो छ। सुशीलजीले पनि पहिलो क्याबिनेट बैठकमा सादा, मितव्ययी बन्नका लागि अनुरोध गर्नुभयो। राष्ट्रिय उत्पादन वृद्धिको कुरा गर्नुभयो। यो राम्रै कुरा थियो। खण्डनमण्डन गर्ने विषय नै थिएन। आगामी दिनमा पनि यस्तै राष्ट्रिय हितका कुरामा एकमत भइहाल्छ नै।

तपाईंकै पार्टीका वरिष्ठ नेता सरकारविरुद्ध आगो बाल्न थालिसके । कार्यादेश पूरा गर्न सक्छ त यो सरकारले ?
आगो बाल्न त खोजिएको छ तर आगो बाल्ने लाइटरमा ग्यास सकिसकेको छ। विगतमा पनि मैले बाहिरबाट स्याबासी र पार्टीबाट आलोचना भोगेरै सरकारमा रहेर काम गरेको हुँ। तर, यसपटक समर्थन गर्ने पंक्ति नै ठूलो छ।
(प्रस्तुति : रामबहादुर रावल)
http://www.ekantipur.com/nepal/2070/11/18/full-story/6575.html
अंक ५८५ | २०७० फाल्गुन १८

No comments:

Post a Comment