Tuesday, January 6, 2015

डोटेली राज्यको अवशेष अजैमेरुकोट

प्रदीप बस्याल

पश्चिम नेपालका बाइसे राज्यमध्येको एक डोटेली राज्यको सम्झना हुन्छ, हाल डडेलधुराको अजैमेरुकोट पुग्दा। अजैमेरुकोट खासमा डाँडाको थुम्कोमा रहेको दरबार हो। यसैलाई कसैले डोटीका संस्थापक राजा नीराजनदेवले स्थापना गरेको डोटेली राजधानी भनेका छन् भने कसैले १४औँ शताब्दीमा तत्कालीन डोटेली स्वर्ण युग हाँकेका राजा नाग मल्लको ग्रीष्मकालीन राजधानी। सत्य जेसुकै भए पनि यसलाई गन्तव्य बनाएर तय गर्न सकिने पदयात्रा र यहाँको भौगोलिक अवस्थिति अनि वास्तुकलाले जोकोहीको मन लोभ्याउँछ।

यहाँ पुग्ने यात्रा सुरु हुन्छ, सुदूरपश्चिमको हिल स्टेसन डडेलधुरा जिल्लाको सदरमुकाम डडेलधुरा बजारबाट १५ मिनेटको जिप यात्रा गरी आइतबजारसम्म पुगिन्छ। आइतबजारबाटै अजैमेरुकोटसम्मको झन्डै तीन घन्टे यात्रा सुरु हुन्छ। र, त्यहाँबाट अगाडि बढ्नका लागि पैदल यात्रा गर्नुपर्छ या घोडसवारी। शान्त जंगलबीचबाट चराचुरुंगीको आवाज सुन्दै यात्रा गर्नुको आनन्द निकै अनुपम हुन्छ।

बीचमा आउँछ, सुन्तला र अन्य अग्र्यानिक फलफूलका लागि चर्चित सुनेगा गाउँ। सुनेगा गाउँको अर्को विशेषता भनेको त्यहाँबाट निकै राम्रोसँग देखिने अपी हिमशृंखला पनि हो। यदि घोडसवारी गरिएको छ भने सुनेगा गाउँको अन्त्यसम्म मात्र त्यसको आनन्द लिन सकिन्छ। किनभने, त्यहाँबाट सिँढीजस्तो बाटोमा निकै ठाडो ओरालो झर्नुपर्छ। घोडामा यात्रा गर्नेका लागि यो कोटको रुट किन पनि रोचक हो भने यहाँ घोडाहरू समथरदेखि उकालो, ओरालो र खोँचमा समेत यात्रा गर्छन्।

उकालो यात्राका क्रममा घोडाले तान्न नसक्ला कि भनेर पहिलोपटक घोडसवारी गर्नेहरू निकै डराउँदा रहेछन्। तर, घोडाका साथ हिँड्ने स्थानीय पथ प्रदर्शक पनि हुन्छन्। घोडसवारमा एउटा उक्ति रहेछ, 'ओरालोमा घोडालाई बचाउने, उकालोमा घोडाले बचाउँछ।'

तल मजरगाड नदीको किनारमा कोटको तल्लो भाग देख्न पाइन्छ, जहाँ देवलहरू छन्। शिखर शैलीमा बनेका १२ देवलमध्ये अहिले दुई मात्र पूर्ण रूपमा छन्। यी देवलहरू डोटेली राजाहरूले स्थापना गरेका हुन् वा अरू कसैले भन्ने ठोस प्रमाण भने अहिलेसम्म पाइएको रहेनछ। किनभने, सुदूरपश्चिममा धेरैतिर पाइने यस्ता देवल जुम्लाको खसमल्ल राज्यकालमा स्थापना भएको पाइन्छ।

इतिहासकारहरू बाइसे राज्यहरू स्थापनाको सुरुतिर पनि केही त्यस्ता देवल बनेको बताउँछन्। त्यसैले ती देवल १२औँदेखि १६औँ शताब्दीबीचमा बनेका हुन सक्छन्। अहिले भत्किएर जीर्ण भइसकेका तीनवटा देवलको अस्तित्व देख्न पाइन्छ भने अन्यको नामोनिसान छैन। तिनमा प्राचीन समयमा ठूला ढुंगा काटेर वा कुँदेर बनाइएका कलाका नमुना निकै आकर्षक छन्। गजुरका रूपमा भने कमलको पातजस्तै गोलाकार प्रस्तर पाइन्छ।

ती देवलमा अहिले पूजा त हुँदैन तर तिनको शैली हेर्दा कुनै बेला शिवको पूजा हुन्थ्यो भन्ने लाग्छ। किनभने, त्यहाँ मूर्ति राख्ने वेदी, पूजामण्डप अझै छन्। त्यसवरपर देखिने पाटीपौवाका कारण पनि त्यहाँ पूजा हुने मानिएको छ। रोचक त के भने ती शिखर शैलीका मन्दिरहरू काठमाडौँको जयवागेश्वरी, पाटन र भक्तपुरकासँग मिल्दाजुल्दा लाग्छन्। तर, ती काठमाडौँमा १७-१८औँ शताब्दीतिर बनेका हुन् भने डडेलधुरामा १३-१४औँ शताब्दीतिर।

त्यसवरपर तीनवटा प्राचीन नाउला (इनार) पनि छन्, जसमा अझैसम्म पानी रसाइरहेको छ। पानी भण्डारणको नाउला बनाउने शैली खसमल्ल साम्राज्यमा चलेको थियो। ती नाउलाहरू सायद यो कोट निर्माणकै क्रममा बनेका हुन सक्छन्। ती चित्र कुँदिएका ढुंगाकै खुम्बा, फल्याक र छानाले बनाइएका छन्। तिनलाई अझैसम्म पनि स्थानीयले पानीको स्रोतका रूपमा प्रयोग गररिहेका छन्।

तिनै इनारका छेउ लाग्दै पुनः आधा घन्टाजति उकालो लागेपछि बल्ल यो कोटको माथिल्लो भाग आउँछ। त्यहाँ अहिले जीर्ण दरबार छ। संरक्षणविहीन बनेको त्यस दरबार संरक्षणका लागि पहल नगरिए अहिलेको स्वरूपसमेत नासिन सक्छ। एउटा कोठाको भने छाना मात्र छैन, अन्य स्वरूप दुरुस्त छ। अन्य भने भग्नावशेष मात्र छ। त्यसको पश्चिमपट्ट िथप केही कोठाको भग्नावशेष छ तर उत्खननको अभावमा यकिन भन्न सकिएको छैन। दरबारको दक्षिण-पश्चिम कुनामा स्त्रीहरू स्नानका लागि पुग्ने सुरुङ मार्ग छ, जसको भग्नावशेष अझै छ।

कोटलाई तीनतिर नदीले घेरेको छ। पुरातत्त्वविद्हरूले डोटीको मध्यकालीन वास्तुकलाका थुप्रै रोचक पक्षको रहस्योद्घाटनका लागि अजैमेरुकोटको छिटोभन्दा छिटो उत्खनन हुनुपर्ने सुझाए पनि केही उपलब्धि हुन सकेको छैन। वास्तुकलामा डोटीको सम्पन्नताबारे सुनेर लखनउका गभर्नर हुसेन खाले आक्रमण गरेर अजैमेरुकोट ध्वस्त पारेको इतिहास छ। खासमा डोटेली राज्य सुरुमा स्वतन्त्र नभई खसमल्ल साम्राज्यकै एउटा प्रदेशको रूपमा थियो। विसं १४४४ तिर खसमल्ल साम्राज्य कमजोर भएपछि नाग मल्लले डोटी प्रदेशलाई स्वतन्त्र राज्य घोषणा गरे। अजैमेरुकोटको नामकरण भने डाँडामाथि भएकाले शत्रुले पराजय गर्न नसक्ने भन्दै 'अजैमेरु' (जित्न नसकिने पर्वत) राखिएको अनुमान छ। कोटले ऐतिहासिक महत्त्व पाउनुको खास कारण त्यसको भौगोलिक अवस्थिति पनि हो। त्यसैले यहाँसम्मको यात्राले प्रकृति र इतिहासको अनुपम आनन्द दिन्छ।
http://www.ekantipur.com/nepal/2070/11/25/full-story/6614.html
अंक ५८६ | २०७० फाल्गुन २५

No comments:

Post a Comment