Tuesday, January 6, 2015

समाजजस्तै समावेशी

- रामबहादुर रावल



राज्य र सामाजिक जीवनका धेरै आयामबाट वञ्चित दलित समुदायबाट दुई जना सहभागी थिए, नेपाली राष्ट्रिय क्रिकेट टिममा। १३ प्रतिशत जनसंख्या रहेको दलित समुदायबाट अहिलेसम्म कर्मचारी प्रशासनमा सचिव बन्ने हैसियतमा कोही पुगेको छैन। हालको मन्त्रिपरिषद्मा पनि यो समुदायको प्रतिनिधित्व छैन। धारा-पँधेरामा छोइछिटो गरन्िछ। तर, क्रिकेट टिममा करबि जनसंख्या प्रतिशतकै हाराहारीमा यस समुदायको उपस्थिति रह्यो। ती पनि कसैको दया र कृपाबाट त्यहाँ पुगेका छैनन्। त्यहाँ आलंकारकि हैसियतमा उनीहरूलाई सजाउन वा ताली बजाउन पनि राखिएको छैन। ती दुवै सदस्यले नेपाली टिमका तर्फबाट जोडदार प्रस्तुति गरे। नेपालको नाम अन्तर्राष्ट्रिय मैदानमा उँचो राख्न अरू खेलाडीजत्तिकै योगदान गरे। अधिकारकर्मी पद्म सुन्दास भन्छन्, "हरेक क्षेत्रमा पछि परेको समुदाय भएकाले अहिले पनि हाम्रो ल्याकत नपुगेको हो कि भन्ने मनोविज्ञान दलितमा छ। तर, यस खालका सफलताले हामी पनि कम रहेनछौँ, अन्य क्षेत्रमा पनि यसै गरी सफलता हात पार्न सक्ने रहेछौँ भन्ने सन्देश गएको छ।"

बंगलादेशको चटगाउँमा ट्वान्टी/ट्वान्टी विश्वकप छनोट चरणको ६ चैतको खेलमा नेपालले अफगानिस्तानमाथि सनसनीपूर्ण जित हात पारेपछि सिंगो मुलुक खुसीमा रमायो। सफलताका कथा बुन्दैबुन्दै यो टोलीले विश्वकपमा छनोट चरणका तीन खेलमा दुईमा जित हात पार्‍यो। त्यही खुसीयालीमा नेपाली स्वतःस्फूर्त रूपमा सडकमै निस्किए। घरका छत, बार्दली, झ्यालढोकाबाट हात हल्लाउँदै खुसीका फोहोरा फ्याँके। काठमाडौँ मात्र होइन, यसपालिको क्रिकेटले मुलुकभरको ठूलो जनसंख्यालाई छोयो। सम्भवतः सबैभन्दा धेरै सामाजिक र भौगोलिक एकाइसम्म नेपाली क्रिकेट यसपालि पुग्यो। नेपालीलाई यसरी बृहत् रूपमा एकैपटक छुने, एकाकार गर्ने विषय क्रिकेट आफँैमा ठूलो विषय थिएन। अझै पनि क्रिकेटको क्रेज एउटा तप्कामा मात्र सीमित छ। तर, समाजका भित्रभित्र जरासम्म क्रिकेट टोली पुग्यो। नेपालीत्वको भावनाले सबैलाई बाँध्यो। नेपाल-नेपाल भन्न झकझक्यायो। यसको प्रमुख कारण नेपाली टिमको उत्कृष्ट प्रदर्शन र उपलब्धि अवश्य हुँदै हो। अर्को कारण पनि छ। त्यो हो, यो टिम नेपाली समाजको बनोटसँग ठ्याक्कै मिल्छ। नेपाली भाषा, संस्कृति र भूगोल विविधतालाई यसले समेटेको छ। समाजको जुनसुकै तप्काले नेपाली क्रिकेट टिमलाई मेरो टिम भन्न सक्ने अवस्था छ। चार जना मधेसी समुदायका खेलाडीले राष्ट्र र राष्ट्रियता निर्माणमा उत्तिकै हिस्सेदारी प्रस्तुत गरे। यति मात्र होइन, विकास र अवसरमा पछि परेको ठान्ने आदिवासी जनजातिदेखि सुदूरपश्चिमसम्मको गर्विलो उपस्थिति क्रिकेटमा देखियो। सुन्दास भन्छन्, "पछि परेको समुदायलाई आत्मबल र आत्मसम्मान दुवै मिलेको छ। अरूलाई उत्पे्ररणाको पनि काम गर्छ यसले।"

पूर्वमन्त्री देवेन्द्रराज पाण्डे यस क्रिकेट टिममा सिंगो नेपालको चित्र देख्छन्। भन्छन्, "हाम्रो क्रिकेट टिमको दक्षता, क्षमता त छँदै छ, त्यसमा पनि यसको समावेशी चरत्रि अर्को राम्रो पक्ष हो।" पाण्डेकै भनाइमा दक्षता, तालिम, लगावजस्ता पक्ष त हरेक खेलाडीलाई चाहिन्छ नै। त्यसमा पनि सामाजिक विविधताको छविछायाँ देखिन्छ। ०६२/६३ पछिको राजनीति पहिचानमय भयो। खास गरी समावेशिता र संघीयताको मुद्दालाई पहिचानसँग जोडियो।

राष्ट्रिय विकासको मूलधारमा आउन नसकेका भाषा, धर्म, जाति र क्षेत्रबाट समावेशिताको मुद्दालाई थप जोडदार रूपमा उठाए। तर, क्रिकेट टिम यसरी बन्यो, जहाँ जाति र क्षेत्र नभनीकनै समावेशी भयो। अर्थात्, ती कुनै जाति र क्षेत्रका भएनन्। सबै नेपाली भए। नेपाली भनेरै अन्तर्राष्ट्रिय मैदानमा चिनिए। नेपालभित्रका सबै समुदायले सिंगो टिमलाई समान रूपमा हुटिङ् गरे। के राज्यको पुनःसंरचना र राज्य सञ्चालनमा पनि सबैको अपनत्व, सहभागिता र राष्ट्रिय एकताको यो भावना कायम राख्न सकिएला ?
http://www.ekantipur.com/nepal/2070/12/9/full-story/6666.html
अंक ५८८ | २०७० चैत्र ९